गर्मीले तराईदेखि पहाडसम्मै कष्टकर, राहतका लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ - सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई–मधेसका जिल्लामा गर्मीका कारण लु चलेको र जीवन कष्टकर भएको अवस्थामा विद्युत् आपूर्ति नियमित नहुँदा जनजीवन झन कठिनाइ भएकाले विद्युत् नियमित आपूर्तिका लागि सरकारको ध्यनाकर्षण गराइन् ।

सांसद प्रदीप पौडेलले देशभर तापक्रम वृद्धि भएर ४४ डिग्री सेल्यिस पुगेको र जनजीवन कष्टकर भएको तथा कृषि क्षेत्रमा असर पुगेको अवस्थामा तत्कालीन र दीर्घकालीन सामाधानका आवश्यक उपायका बारेमा सरकारसँग माग गरे ।

सांसद नारायणी शर्माले दाङको सीमा नाका क्षेत्रका बासिन्दाका लागि खानेपानी शिक्षा स्वास्थ्यको व्यवस्था गर्न सरकारसँग माग गरेकि छिन् ।
सांसद निशा डाँगीले बागमतीका नाममा धेरै राजनीति भएको सरसफाइका नाममा करिब रु २२ अर्ब खर्च भइसकेको तर अझै प्रभावकारी काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।