भारतीय बजारका कारण मारमा उपभोक्ता

काठमाण्डौँ - नेपाली धानको मूल्यवृद्धि भएकाले किसानले राहत राहतको अनुभूति गरेका छन् । यसपाली नेपाली धानको मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल रु तीन सयले वृद्धि भएपछि किसानले थोरै भए पनि राहतको महशुस गरेका हुन् । 

भारतले धान निकासीमा कोटा लगाएको र भारतमै पनि मूल्यवृद्धि भएकाले नेपाली धानको मूल्य पनि गत वर्षको तुलनामा धानको मूल्य बढेको हो ।

धानको मूल्य बढेसँगै प्रतिकेजी ४८ रुपैयाँमा पाइने सोना मन्सुली चामल रु ५८, रु ५० किलोमा पाइने मन्सुली चामल रु ६४ पुगेको छ। धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेस प्रदेशका किसान मारमा पर्दै आए पनि यसपाली भने केही भए पनि राहत पाएका छन्। वीरगञ्ज वडा नं ३०स्थित लालपर्साका किसान सीतारामप्रसाद भन्छन्, “धानको उत्पादनमा लाग्ने खर्चभन्दा बिक्री गर्ने रकम जहिले कम नै हुने गरेको भए पनि यसपाली भने थोरै भए पनि खुसी भएको छु।’’

उनी भन्छन्, “म अहिले ६५ वर्षभन्दा माथिको भए, करिब १६ वर्षको उमेरदेखि धानखेती गर्दै आएको छु। मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन मल समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने अवस्था छ। त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या हुनेगरेकामा अहिले अलिकति भए पनि धानको मूल्यवृद्धि हुँदा हामी किसान खुसी नै छौँ तर यो पर्याप्त चाहिँ होइन।”