काठमाडौँ महानगरका अवकाश प्राप्त इञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा, चार करोड बढी अकुत सम्पत्ति

काठमाडौँ महानगरका अवकाश प्राप्त इञ्जिनियनरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त इञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध अकुत सम्पत्ति मुद्दामा भ्रष्टाचार मुद्दा दायर भएको हो। चार करोड बढी अकुत सम्पत्ति देखिएको भन्दै अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दा दर्ता भएको हो।

धनुषा, क्षीरेश्वरनाथ नगरपालिका–५ स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका–४, चण्डोल बसोबास गर्ने महतोले सार्वजनिक सेवाको पदमा रही पदीय मर्यादाविपरीत कार्य गर्दै गैरकानूनी रूपमा ठूलो मात्रामा सम्पत्ति आर्जन गरेको ठहर भएको आयोगले जनाएको छ।

अख्तियारले गरेको अनुसन्धान अनुसार महतोले आफ्नो वैध आम्दानीभन्दा ४ करोड ५८ लाख ९० हजार ४०३.८८ रुपैयाँ बढीको सम्पत्ति आर्जन गरेका छन्। रामबाबु महतोले आफू सार्वजनिक सेवाको पदमा रही गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट श्रीमती माला कुमारी महतोको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिद र बैंक मौज्दात राखेको पुष्टि भएको आयोगले जनाएको छ। यसैले उनीविरुद्ध पनि सम्पत्ति जफतका लागि मात्रै प्रतिवादी बनाइएको छ।