धनुषाको जनकपुर उपमहानगरपालिका–२४ का वडाध्यक्षसमेत तीनजना घुस लिई भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतले यस मुद्दामा सुनुवाइ गर्दै आंशिक ठहरको फैसला गरेको हो। वडाध्यक्ष उपेन्द्र सहनीलाई विशेषले ६ महिना कैद तथा दुई लाख २५ हजार जरिवाना हुने फैसला गरेको हो। विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको हो।
यस मुद्दामा वडासचिव उपेन्द्र साहु तेली र विजय मण्डललाई पनि सजाय तोकेको छ। उनीहरूले मतियारको कसुर गरेको भन्दै जनही तीन महिना कैद र एक लाख १२ हजार पाँच सय जरिवाना हुने भएको विशेषले जनाएको छ।
वडाध्यक्ष सहनी र वडासचिव तथा शाखा अधिकृत साहुले घरबाटो प्रमाणित गरिदिनका लागि सेवाग्राहीसँग साढे चार लाख घुस मागिरहेको भन्दै अख्तियारमा उजुरी परेको थियो। उजुरीपछि आयोगको बर्दिवासबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा सहनी, साहु र मण्डललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानपछि १४ असोजमा मुद्दा दायर गरेको थियो।