कपिलवस्तु जिल्ला अदालतका तहसिलदार र कम्प्युटर अपरेटर भ्रष्टाचार मुद्दामा दाेषी ठहर

जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार उनीहरूलाई सजायसमेत सुनाएको छ । तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयलाई सजाय सुनाइएको हो । गत २१ मंसिरमा दायर यस मुद्दामा दोषी ठहर हुने फैसला भएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापाको इजासले यस्तो फैसला गरेको हो । 

विशेषका अनुसार घूस रकम २० हजार रुपैयाँ रहेकोले उक्त रकम बिगो कायम गर्दै उक्त रकम जफत तथा दुवै जनालाई जनही १०–१० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । यसैगरी तहसिलदार मिश्रलाई दुई महिना र पाण्डेयलाई एक महिना कैद सजायसमेत सुनाइएको छ । 

अपराध पीडित संरक्षण ऐनअनुसार दुवै प्रतिवादीबाट जनही चार सय रुपैयाँ क्षतिपूर्तिवापत पीडित राहत कोषमा भराउनसमेत अदालतले आदेश दिएको छ । मिश्र र पाण्डेय २० हजार घूसका साथ पक्राउ परेका थिए । 

अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा दुई महिनापछि फैसला आएको हो । सेवाग्राहीसँग फैसला कार्यान्वयनका क्रममा भएको बण्डा मुचुल्का बदर गरिदिने भनी उनीहरूले घूस मागेको खुलेको थियो । यस तथ्यलाई साबित गर्ने अडियोसमेत संलग्न प्रमाण अख्तियारले अदालतमा पेस गरेको थियो ।