गंगालालमा अब राष्ट्रिय खेलाडीहरूको नि:शुल्क स्वास्थ्य परीक्षण हुने

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा राष्ट्रिय टिमका खेलाडीहरूको नि:शुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । अब गंगालालमा देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रियस्तरमा योगदान गर्ने सबै खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण हुने छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मंगलबार मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अस्पतालबीच हरेक वर्ष निःशुल्क मुटुसहितको स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार, यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै स्रोतबाट गर्ने छ । हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ । सम्झौताबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७५७ खेलाडी लाभान्वित हुने जनाइएको छ । मंगलबार पारालम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनको स्वास्थ्य परीक्षण गरेर नि:शुल्क परीक्षणको सुरुवात गरिएको छ ।