रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडी बजारस्थित प्रभु बैंकका अप्रेसन इन्चार्ज ६ दिनदेखि बेपत्ता, एक करोड ३५ लाख अपचलनको आशंका

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडी बजारस्थित प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह ६ दिनदेखि बेपत्ता छन् । आफ्नो बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएको भन्दै बचतकर्ताहरू हरेक दिन शाखा कार्यालयमा भेला हुने गरेका छन् । 

आठबिसकोट नगरपालिका– १३ का शंकर पुनले आफ्नो खातामा रहेको १० लाख रुपैयाँ थाहा नै नदिए अर्कैको खातामा ट्रान्सफर भएको बताए । बैंकमा गएर बुझ्दा आफ्नो खातामा रहेको पैसा अन्यत्रै पठाएको बताए । बैंकमा बचत गर्न पैसा दिएको र बचत गरेको नक्कली भौचर दिएर झुक्याइएको बचतकर्ताहरूको गुनासो छ । बचतकर्ताहरू आफ्नो रकम फिर्ताको माग गर्दै भेला हुने गरेका छन् । 

शंकास्पद देखिएपछि आन्तरिक अनुसन्धान थालिएको छ । बैंकको कर्णाली प्रदेशबाट आएका दुईजनाको टोलीले अनुसन्धान गरिरहेको शाखा प्रमुख डम्बर गौतमले जानकारी दिए । ‘यस शाखामा अप्रेसन इन्चार्जको रूपमा कार्यरत शाह ६ दिनदेखि बेपत्ता हुनुहुन्छ, म बिदामा रहेका कारण बैंकको सबै जिम्मेवारी उनलाई थियो, बेपत्ता भएपछि हामीले आन्तरिक अनुसन्धान सुरु गरेका छौँ,’ उनले भने, ‘गडबडी भए–नभएको अनुसन्धान सकिएपछि मात्र थाहा हुन्छ ।’ अनुसन्धानका लागि केन्द्रको टोलीसमेत आउन लागेको उनले बताए । 

शाहले १२ दिनको बिदा मागेको, तर आफू बिदामा रहेका कारण नमिल्ने भनेको उनले बताए । तर, पायल्सको अप्रेसन छ एक दिनका लागि भए पनि बिदा दिनुपर्‍यो, नेपालगन्ज जानु छ भनेर शाह सम्पर्कविहीन भएको प्रमुख गौतमको भनाइ छ । उनले बचतकर्ताको खाताबाट पैसा निकालेको भन्ने हल्ला मात्र भएको दाबी पनि गरे । ‘कुनै पनि बचतकर्ताको खाताबाट पैसा निकालेको देखिएको छैन, यसमा सत्यता छैन । तर, हामी अनुसन्धानमा छौँ,’ उनले भने । 

शाहमाथि व्यक्तिगत कारोबारको आशंका गरिएको उनले बताए । केही व्यक्तिले शाहलाई ऋण दिएको र एकाएक बेपत्ता भएको थाहा पाएपछि आत्तिएको हुन सक्ने शाखा प्रमुख गौतमको भनाइ छ । सोमबारसम्ममा अनुसन्धान सकिने र त्यसपछि यसबारेमा थप जानकारी दिने उनको भनाइ छ ।