नेपालले जित्यो क्यानडाविरूद्धको ODI सिरिज

नेपालले क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै जितेको छ। शनिबार त्रिवि मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी छँदै जितेको हो। नेपालले पहिलो खेल ७ रनले जितेको थियो। शनिवारको खेलमा पनि विजयी भएसँगै नेपालले सिरिज जितेको हो। सिरिजको अन्तिम खेल सोमबार खेल्नेछ। 

२८६ रनको लक्ष्य कप्तान रोहित पौडेल, देव खनाल र अनिल साहको अर्धशतकमा नेपालले २९ बल बाँकी छँदै पूरा गरेको हो। शनिवारको खेलमा कप्तान पौडेलले सर्वाधिक ८७ रन बनाए। उनले १०१ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै  देव खनालले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरि ७१ रन बनाए। 

खेलमा अनिल शाहले विस्फोटक ब्याटिङ गरी आक्रामक सुरूवात गरेका थिए। उनले  २० बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५० रन बनाए। अर्धशतक बनाएलगत्तै उनी आउट भएका थिए। कुशल भूर्तेलको स्थानमा उनलाई खेलाइएको थियो। अर्का ओपनर आशिफ शेख १० रन बनाएर आउट भए।

देव खनालको विकेटपछि आएका भीम सार्कीले २१ बलमा ४ चौका हानेर २३ रन जोडे। पवन सर्राफले ८ बलमा २ चौका र १ छक्का प्रहार गरी १४ रन बनाए। त्यसपछि कुशल मल्ल र सोमपाल कामीले ९/९ रन प्रहार गरेका थिए।

नेपालले ४५.१ ओभरमै लक्ष्य पूरा गरेको थियो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो। क्यानडाका लागि उदेय भगवानले अविजित २० रन बनाए। उनले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे।

अन्तिम बलमा सोमपाल कामीबाट आउट हुनुअघि श्रीयस मोव्बाले ४० रन जोडे। उनले ४२ बलमा ४ चौका प्रहार गरे। त्यसअघि ओपनर आरोन जोनसनले ६२ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ६५ रन बनाए। अर्का ओपनर नवनीत धलिवलले ६० बलमा ८ चौका प्रहार गर्दै ४६ रन बनाए।

त्यस्तै पर्गत सिंहले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे। निकोलश किर्टनले २०, दिलप्रित बज्वाले १९ शाहिद अहमदजइले १३ रनको योगदान गरे। बलिङतर्फ नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले २/२ विकेट लिए। सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १/१ विकेट लिए।