बीपी राजमार्ग खुल्यो : कतै एकतर्फी र कतै दुईतर्फी नै सडक सञ्चालन

बाढीपहिरोले क्षति गर्दा अवरुद्ध बीपी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।

आज बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा ल्याउने गरी मर्मतको अन्तिम चरणको काम भइरहेकोमा बिहान ८ बजेदेखि सडक खुलेको र गाडी चल्न थालेका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिनुभएको छ । अवरुद्ध सडक खुलाउन रातदिन र चाडपर्व नभनी काम गरिएको उहाँको भनाइ छ ।

यो राजमार्गको विभिन्न ठाउँमा गरी १२ किलोमिटर भन्दा धेरै भागमा क्षति पुगेको थियो । उहाँका अनुसार आजदेखि कतै एकतर्फी र कतै दुईतर्फी राजमार्ग खुलेको छ । कतै कतै जोखिम कायमै छ । अब सडक खुलेपछि आउजाउ गर्नेलाई केही सहज भएको छ ।