प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै विभिन्न चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । त्यस्तै, विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको जनाएको छ ।
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आईतवारको बैठकले काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने निर्णय गरेको हो ।
दसैँअघि काउन्सिलले तीनवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो । आईतवार एक साप्ताहिक, एक टेलिभिजन र दुई अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय गरेको हो । काउन्सिलले कालोसूचीमा राखेका सञ्चारमाध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत दिएको छ ।
कालोसूचीमा पर्ने सञ्चारमाध्यममा त्रिनेत्रपोस्ट साप्ताहिक, योहो टेलिभिजन, कोसी पोस्ट डटकम, खोजतलास अनलाइन डटकम छन् ।काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको छ ।त्यसैगरी, आचारसंहिताकै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारबाहीका लागि काउन्सिलले सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ । त्यसमा दियोपोस्ट डटकम, मोटिभेटन्युज डटकम, एवननेपालन्युज डटकम, अनलाइनटीभीनेपाल डटकम, राइटसञ्चार डटकम, ताजाखबर टीभी र वीजीटीभी (युट्युब च्यानल) छन् ।