राजनीतिक संयन्त्रको बैठक : रास्वपालाई सरकारमा सहभागी गराउन पहल गर्ने, सरकारका कामको समीक्षा

काठमाडौँ - उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । आइतबार बालुवाटारमा बसेको एमाले अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भर्खर सकिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लिङदेनले सरकारका कामकारबाहीका विषयमा समीक्षा भएको जानकारी दिए । रास्वपालाई सरकारमा सामेल गराउन संयन्त्रका तर्फबाट पहल गर्नेबारेमा छलफल भएको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संयन्त्रका संयोजक रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री राजेन्द्र लिङदेन राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको बैठकमा सहभागीता रहेको थियो ।

सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा दुई घटक दल सहभागी हुन छाडेका छन् । आइतबारको बैठकमा सत्तारुढ दल जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी भएनन् । केही दिनयता विकसित राजनीतिक घटनाक्रममा उनीहरु संयन्त्रको बैठकमा सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिन थालिएको छ ।