प्रहरीले आकर्षक रोजगारमा कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाइदिने प्रलोभनमा तीन सयभन्दा धेरैबाट १५ करोड रुपैयाँ ठगी गर्ने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका– १८ का २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका– ८ का २२ वर्षीय नवीन विक र पोखरा महानगरपालिका– ८ का २३ वर्षीय पवन पन्त छन् ।
काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले फेसबुक, म्यासेन्जर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा फेक आइडी प्रयोग गरी रोजगारको जाली विज्ञापन सार्वजनिक गर्थे । सम्पर्कमा आएका युवालाई बैंक खातामा रकम जम्मा गर्न लगाउँथे । उनीहरूले तीन सयभन्दा बढीबाट १५ करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।