भूगोल इनर्जीको आईपीओ फागुन ८ गतेदेखि बिक्रीमा आउँदै, कसरी भर्ने ? 

 काठमाडौँ - भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ फागुन ८ गतेदेखि बिक्रीमा आउने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्रीमा ल्याउन लागेको हो ।

कम्पनीले ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ८ हजार ८११ कित्ता सेयर जारी गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीयका लागि जारी गर्ने आईपीओमा आयोजना अतिप्रभावित क्षेत्र नौमुलेद्वारी–३ दैलेखका स्थानीयका लागि २ लाख ७२ हजार २६ कित्ता र त्यसबाहेक दैलेख जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ । यस आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन २५ गते गतेसम्म आवेदन दिन पाउने छन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने छिटोमा फागुन २५ गते र ढिलोमा चैत १२ गते बैंकिङ समयपछि हुने भनिएको छ।

स्थानीय बासिन्दाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।