बालाजुमा आन्दोलित यातायात व्यवसायीले जलाए प्रहरी भ्यान !

काठमाण्डौँ - बालाजु क्षेत्र अहिले तनावग्रस्त बनेको छ । आन्दोलित यातायात मजदुर प्रहरीको भ्यान जलाएका छन् ।

उनीहरूले प्रहरीको दुइटा भ्यान जलाएको प्रहरीले जनाएको छ । नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएका छन् । सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने समेत घोषणा गरेका छन् । 

उनीहरूले बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन् ।  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेको हो । तर त्यसक्रममा आफूहरूमाथि हातपात समेत भएको राईले बताए ।