'जनयुद्धको उपलब्धि राष्ट्रका साझा सम्पत्ति' : प्रधानमन्त्री दाहाल

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् ।

२८औँ जनयुद्ध दिवसुका अवसरमा आज शुभकामना दिँदै उनले नेकपा माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवसका रुपमा रहेको बताए ।

उनले स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना पनि व्यक्त गरेका छन् ।

‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु’, उनले शुभकामना सन्देशमा भनेका छन् ।

उनले साहस, वीरता र उत्सर्गको त्यस ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको बताए ।

‘वर्ग, जाति, लिङ्ग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ’, उनले भने ।

ुजनयुद्धुको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र संस्थागत भएको छ । मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदायलगायत उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ’, उनले भने ।

नेपाल सरकारले फागुन १ गतेलाई ुजनयुद्ध दिवसुका रूपमा मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको जनाउँदै उनले विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गरेका छन् ।

देशको राजनीति र अर्थतन्त्रले सङ्कटको सामना गरिरहेको परिस्थितिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको जनाउँदै प्रधानमन्त्री दाहालले वर्तमान सरकार उल्लेखित कार्यभारसहित जनताको व्यवस्था बदल्न र समाजवादको आधार खडा गर्न दृढ सङ्कल्पित रहेको बताए । उनले सहमति, सहकार्य र एकताका आधारमा राष्ट्रिय चुनौतीलाई अवसरमा बदल्न सम्पूर्ण नेपालीमा सकारात्मक ऊर्जा र प्रेरणा पैदा गरोस् भनी कामनासमेत गरेका छन् ।