सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्यूटर अपरेटर विकास पाण्डे पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबल कार्यालयबाट गएको टोलीले मंगलवार उनीहरुलाई २० हजार रुपैंया घुससहित पक्राउ गरेको हो ।
‘अदालतका कर्मचारीहरुले घुस मागेको उजुरी आएपछि हामीले आन्तरिक निगरानी र अनुसन्धान गरेका थियौं, त्यसपछि न्यायिक नेतृत्वलाई जानकारी गराएर उनीहरुलाई पक्राउ गरिएको हो’ अख्तियारस्रोतले भन्यो, ‘पक्राउ गरेपछि सबै प्रक्रिया पुरा गरेर उनीहरुलाई हिरासतमा लिइएको छ ।’
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जिल्ला अदालत कपिलबस्तुमा अख्तियारले स्टिङ अपरेसन गरेको पुष्टि गरे । उनले भने, ‘यसवारेको विस्तृत विवरण संकलन गरिरहेका छौं ।’ न्यायालयभित्र कर्मचारीवृत्तमा हुने घुसखोरीमा विरलै हात हाल्ने अख्तियारले पछिल्ला केही वर्षयता अदालतभित्र सक्रियता देखाएको थिएन । सेवाग्राहीको उजुरीको आधारमा रंगेहात कारवाही गरेको अख्तियारले अदालतका दुई कर्मचारी पक्राउ गरेको हो । जिल्ला अदालत रहने तहसिल्दारफैसला कार्यान्वयनको जिम्मेवारीमा हुन्छन् ।