यू-१९ विश्वकपअघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई हरायो

आइसिसी यू-१९ विश्वकपअघिको वाम अप खेलमा नेपालले स्कटल्यान्डलाई डिएलएस मेथडमा ७ विकेटले पराजित गरेको छ। शनिवार दक्षिण अफ्रिकामा वर्षाले प्रभावित खेलमा स्कटल्यान्डले दिएको ११५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९ रन बनाउदा ३ विकेट गुमाएको थियो।

नेपालका लागि अर्जुन कुमालले ३३ रन र आकाश त्रिपाठीले २९ रन जोडेका थिए। त्यसपछि खेल वर्षाले हुन नसक्दा नेपाल विजयी भयो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४४.४ ओभरमा ११४ रनमै अलआउट भयो। उसका लागि यु अहमदले ३१ रन जोडे। 

बलिङमा नेपालका  गुल्सन झा र तिलकराज भण्डारीले ३-३ विकेट लिन सफल भए। अब नेपालले मंगलबार वेस्ट इन्डिजसँग दोस्रो औपचारिक वाम अप खेल खेल्नेछ। अनौपचारिक अभ्यास खेलमा नेपालले स्कटल्यान्ड र नामिबियालाई हराइसकेको छ। 

यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्। नेपालले विश्वकपमा पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २६ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ।

नेपालले सन् २०१६ पछि यू-१९ विश्वकप खेल्न लागेको हो। ८ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा नेपालले छनोटमा युएईलाई स्तब्ध पारेको थियो।