ट्रायल फेल भएकालाई पैसा लिएर लाइसेन्स दिने यातायातका कर्मचारी र बिचौलिया पौने २ लाख नगदसहित पक्राउ

चितवनको भरतपुरस्थित यातायात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेर कार्यालयका कर्मचारी र एक बिचौलियालाई पौने दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ। सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा व्यापक अनियमितता भएको उजुरीका आधारमा आयोगको टोलीले छापा मारेर एक लाख ८५ हजार रुपैयाँ नगदसहित कार्यालय सहायकसहित एक बिचौलिया पक्राउ गरेकाे हाे।

टोलीले आज कार्यालय सहायक (पाँचौँ) इन्द्रजित गुरुङको कार्यकक्षबाट नगदसहित गुरुङ र बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार उनीहरू ड्राइभिङ लाइसेन्स परीक्षामा फेल भएका परीक्षार्थीहरूसँग रकम लिई पास गराउने कार्यमा संलग्न थिए।

महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टरका सञ्चालकसँग मिलेमतो गरी फेल भएका परीक्षार्थीहरूबाट वर्ग अनुसार १५ हजारदेखि २५ हजार रुपैयाँसम्म असुली हुने गरेको पाइएको छ। सोही आधारमा टोलीले छापा मारेर अनुसन्धान अघि बढाएको हो।

टोलीले कार्यालय प्रमुख विष्णु भट्टराईसहित अन्य कर्मचारीहरू तथा विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकहरूको ३१ थान मोबाइल, २ थान ल्यापटप र अन्य महत्वपूर्ण कागजातहरू पनि बरामद गरेको छ। ती उपकरणहरूबाट अनियमित लेनदेन तथा मिलेमतोका प्रमाण संकलन गर्न प्रयास भइरहेको अख्तियारले जनाएको छ। आयोगका अनुसार पक्राउ परेका व्यक्ति र बरामद सामग्रीका आधारमा थप अनुसन्धान भइरहेको छ।