विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेलले अमेरिकी स्थायी आवासीय अनुमतिपत्र (पीआर)बारे ढाँटेर सरकारी पदको लाभ लिएको ठहर गरेको छ । विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार जरिवानाको फैसला सुनाएको छ ।
यसअघि, गत मंगलबारमात्रै विशेष अदालतले पौडेललाई सुरक्षण मुद्रण केन्द्रबाट अन्त:शुल्क स्टिकर छपाइ मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो । पौडेलले २५ करोड ४७ लाख भ्रष्टाचार गरेको ठहरसहित त्यति नै जरिवाना असुल्ने फैसला भएको थियो ।
विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार झुटा विवरण पेश गरेर लाभ लिएको अभियोगमा उनलाई दोस्रोपटक भ्रष्टाचारी ठहर गरेको हो ।
गत वैशाख ९ मा अख्तियारले पौडेलविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिएको विवरण लुकाएर सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरेको थियो ।