अन्तिम लिग खेलमा सुदूरपश्चिम र कर्णाली भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेलहरू आज सकिँदै छ । अन्तिम लिग खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन् । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुवै टोली राम्रो फर्ममा रहेका छन् । आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ ।

जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन् । प्लेअफ चरणमा पुग्ने एउटा टोलीको टंगो लाग्नमात्र बाँकी छ । अब कर्णाली याक्स र काठमाडौँ गुर्खाजमध्ये एउटा टोली प्लेअफ चरणमा पुग्नेछन् । हालसम्म ६ खेल खेलेको सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । सात खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा आसिन छ । सात खेलबाट आठ अंक जोडेको चितवन राइनोज तेस्रो स्थानमा छ ।

यसैगरी, लिग चरणको अन्तिम एक खेल बाँकी रहँदा ६ खेलबाट आठ अंक जोडेको कर्णाली याक्स चौथो र सात खेलबाट आठ अंक बटुलेको काठमाडौँ गुर्खाज पाँचौँ स्थानमा आसिन छन् । यी दुईमध्ये एक प्लेअफ चरणमा पुग्ने अन्तिम टोली बन्नेछ । सात खेलबाट चार अंक जोडेको विराटनगर किङ्स (छैटौँ स्थान), समान खेलबाट समान अंक बटुलेको पोखरा एभेन्जर्स (सातौँ स्थान) र सात खेलबाट केवल दुई अंक हात पारेको लुम्बिनी लायन्स (आठौँ स्थान) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।

हाल आठ–आठ अंक रहेका तीन टोलीमध्ये सबैभन्दा नराम्रो नेट रन रेट काठमाडौँ गुर्खाजको रहेको छ । चितवन राइनोजको नेट रन रेट ०.६३४ रहेको छ । कर्णाली याक्सको नेट रन रेट ०.०९५ छ । काठमाडौँ गुर्खाजको नेट रन रेट भने –०.३२१ रहेको छ । त्यसैले कर्णाली याक्सको तुलनामा काठमाडौँ गुर्खाजको अगाडि बढ्ने सम्भावना केही कम देखिन्छ । सोमबार हुने खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउन सके कर्णाली याक्स सजिलै प्लेअफ चरणमा प्रवेश गर्नेछ ।

यस्तो स्थितिमा कर्णाली याक्सको १० अंक पुग्नेछ भने काठमाडौँ गुर्खाज उपाधि होडबाट बाहिरिने छ । काठमाडौँ गुर्खाजको आठ अंकमात्र रहने छ र नेट रन रेटमा पनि ऋणात्मक नै रहने छ । सोमबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई सामान्य अन्तरले हराएको अवस्थामा पनि कर्णाली याक्स नै प्लेअफ चरणमा पुग्नेछ ।

यस्तो स्थितिमा नेट रन रेट ऋणात्मक हुनु काठमाडौँ गुर्खाजका लागि दुर्भाग्य बन्नेछ । सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिचको खेल अनिर्णीत अवस्थामा सकिए पनि कर्णाली याक्स नै प्लेअफ चरणमा पुग्नेछ । यस्तो स्थितिमा सुदूरपश्चिम रोयल्सको ११ र कर्णाली याक्सको नौ अंक हुनेछ ।

तर, सोमबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ठुलो अन्तरले हराएमा काठमाडौँ गुर्खाज प्लेअफ चरणमा पुग्ने सम्भावना रहन्छ । सोमबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ५५ रनभन्दा बढीको अन्तरले हराएमा काठमाडौँ गुर्खाज प्लेअफ चरणमा पुग्नेछ । यस्तो स्थितिमा कर्णाली याक्स नेट रन रेटमा काठमाडौँ गुर्खाजभन्दा पछि पर्नेछ । यदि कर्णाली याक्सले पहिले ब्याटिङ गरेमा सुदूरपश्चिम रोयल्सले १२ ओभरभित्रै विजयलक्ष्य प्राप्त गर्नु पर्नेछ । यस्तो स्थितिमा पनि काठमाडौँ गुर्खाज प्लेअफ चरणमा प्रवेश गर्नेछ ।