ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले अनेरास्ववियुको अमृत साइन्स क्याम्पस (अस्कल)को इकाई सचिवलाई पक्राउ गरेको छ । अखिलको क्याम्पस इकाई कमिटीका सचिव गोपाल बहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
शाहीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । सो घटनामा संलग्न अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पनि यसअघि पक्राउ परेका थिए । माघ २४ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले निर्घात कुटपिट गरेका थिए । मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती कुटिएका हुन् ।
आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देलसहित पक्राउ पर्नेको संख्या ४ पुगेको छ । घटनामा संलग्न दुईजना अझै फरार रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् । घटनाबारे प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ ।