नक्कली शैक्षिक प्रमाणपत्र पेश जागीर खाएको आरोपमा सप्तरीका सव–इन्जिनियर दिपेन्द्र कुमार झा विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको आरोपमा सप्तरीका एक सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तिलाठी कोईलाडी गाउँपालिकामा कार्यरत तत्कालीन सव–इन्जिनियर (प्राविधिक सहायक) दिपेन्द्र कुमार झा भनिने दिपेन्द्र कुमारले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ इन्स्टिच्युट, पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखराबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र प्रयोग गरी करार नियुक्ति लिएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ । 

अख्तियारका अनुसार झाले सो नक्कली प्रमाणपत्रका आधारमा सव–इन्जिनियरको पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा लिएका थिए। यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर मानी आयोगले कैद र जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरेको  आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।