जेरेमी डोकु, बर्नार्डो सिल्भा र एर्लिङ हालान्डले दोस्रो हाफमा गरेको गोलले म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ३-१ गोलले हराएर आफ्नो विजयी यात्रा कायमै राखेको छ। खेलको ३६ मिनेटमा जेम्स वार्ड-प्रोजको डाइभिङ हेडरमा वेस्ट ह्यामले खेलमा अग्रता लिएको थियो।
तर डोकुले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै सिटीलाई खेलमा फर्काउन सफल भए। त्यसपछि सिल्भाले जुलियन अल्भारेजको पासमा ७६ मिनेटमा गोल गरेर सिटीलाई अग्रता दिलाए।
८६ मिनेटमा हालान्डले ट्रेडमार्क फिनिसको साथ सिटीको अग्रता बढाउनुअघि धेरै अवसरहरू खेर फालेका थिए। लिडर सिटीले लिभरपुलमाथिको दुई अंकको अग्रतालाई कायमै राखेको छ। सिटीको ५ खेलबाट १५ अंक छ भने लिभरपुलको १३ अंक छ।
यता म्यानचेस्टर युनाइटेडलाई ब्राइटनले ३-१ गोलले पराजित गरेको छ। जितसँगै ब्राइटन १२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। युनाइटेड भने ६ अंक जोडेर १२औं स्थानमा छ।