ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन प्रमुख एवं निलम्बित प्रहरी निरीक्षक बिनुकुमारी शाहीविरूद्ध पक्राउ पुर्जी जारी

ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन प्रमुख एवं निलम्बित प्रहरी निरीक्षक बिनुकुमारी शाहीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। हनी ट्र्यापमा पारेर पैसा असुल गरेको घटनामा उनको समेत संलग्नता देखिएपछि ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरेका छन्। उनी समेतको मिलेमतोमा एक जना व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन भएको खुलेपछि परिसरले डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएको थियो। उनलाई निलम्बन गरी छानबिन गरिएको थियो।

छानबिन समितिले पनि शाहीको संलग्नता देखिएको भन्दै मुद्दा नै चलाउन राय दिएको थियो। त्यसअनुसार नै प्रहरी परिसरले अनुसन्धान अघि बढाएको देखिएको हो। अहिलेसम्म यस घटनामा चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा सुष्मा विक, ताज मुल इस्लाम, भिमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल छन्।

प्रहरीले उनीहरूमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको बताएको छ।