इसराइलले गजामा युद्धविराम गर्ने सम्झौता अनुमोदन गरेको छ। इसराइलको मन्त्रिपरिषदले शनिबार गजामा युद्धविराम गर्ने सम्झौतालाई अनुमोदन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। इसराइली सुरक्षा मन्त्रिपरिषदले गजामा युद्धविराम गर्ने सम्झौतालाई अनुमोदनका लागि शुक्रबार सिफारिस गरी पूर्ण मन्त्रिपरिषदमा पठाएको थियो।
मन्त्रिपरिषदको ६ घन्टाभन्दा लामो बैठकपछि गजामा १५ महिनादेखि चलेको युद्ध रोक्ने र बन्दी रिहाइका लागि मार्गप्रशस्त गर्न स्विकृती दिएको प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयलाई उद्धृत गर्दै रोयटर्सले समाचार लेखेको छ। ‘सरकारले गजामा रहेका बन्धक फर्काउने सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ। आइतबारदेखि बन्धकहरू छुट्नेछन्,’ प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
इसराइली मन्त्रिपरिषदको स्वीकृतिपछि अमेरिकी मध्यस्तकर्ता ब्रेट मिकगर्कले सम्झौता कार्यान्वयनको चरणमा रहेको बताएका छन्। उनले सम्झौता कार्यान्वयन आइतबारदेखि हुने र त्यसदिन तीन जनालाई हमासले बन्धकमुक्त गर्ने मिकगर्कले बताएका छन्। भोलि तीन इसराइली महिला बन्धकमुक्त हुनेछन्। गजामा अझै ९८ जना हमासको बन्धकमा रहेको रोयटर्सले जनाएको छ। युद्धविराम तीन चरणमा हुनेछ। पहिलो चरणको युद्धविराम ४२ दिनको हुनेछ।
हमासले ४२ दिनमा यसरी रिहा गर्नेछ गजामा बन्धक बनाइएकाहरूलाई सम्झौताअनुसार युद्धविरामको पहिलो ४२ दिनमा हमासले ३३ जना बन्धक रिहा गर्नेछ भने इसराइलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी नागरिकहरूलाई रिहा गर्नेछ। युद्धविराम घोषणा भएको पहिलो दिन हमासले तीन जना बन्धक रिहा गर्नेछ। सुरूमा महिला र इसराइली सेनालाई हमासले बन्धकमुक्त गर्नेछ। हमासले बन्धकमुक्त गर्ने एक इसराइली नागरिकको बदलामा इसराइलले ३० प्यालेस्टिनी कैदी र एक महिला सैनिकको बदलामा ५० जना कैदी रिहा गर्नेछ।
त्यसको एक सातापछि हमासले चार जना बन्धक रिहा गर्नेछ भने त्यसको बदलामा तोकिएअनुसारको कैदी इसराइलले रिहा गर्नेछ। त्यसपछि एक एक सातामा हमासले बन्धक रिहा गर्ने र इसराइलले प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौतामा उल्लेख छ। पहिलो चरणको युद्धविरामको ४२ दिनभित्रै अर्को सम्झौता गरिसक्नुपर्ने चुनौती मध्यस्तकर्ताहरूलाई रहनेछ। यदी ४२ दिनभित्रै दोस्रो चरणको युद्धविराम सम्झौता नभए इसराइलले फेरि गजामा आक्रमण गर्न सक्ने खतरा उत्पन्न भएको छ।
पहिलो चरणको युद्धविरामको समयमा इसराइली सैनिक गजाबाट नफर्कने बरू त्यहाँका वस्तिबाट किनारतिर सर्ने भनिएको छ। त्यस अवधिमा त्यहाँबाट अन्यत्र भागेकाहरू गजामा फर्केर मानवीय सहायता लिन सक्नेछन्। ४२ दिनपछि हुने दोस्रो चरणको युद्धविराममा गजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ। दोस्रो चरणको युद्धविरामपछि इसराइली सैनिक गजा क्षेत्रबाट फर्कने भनिएको छ।
तेस्रो चरणको युद्धविराममा गजामा मारिएका इसराइली बन्धक र इसराइलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने छ। त्यसपछि गजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इसराइल र गजाको सीमाना खुला गरिने सम्झौतापत्रमा उल्लेख छ। हमासको बन्धकमा नेपालका विपीन जोशी पनि छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का हुन् विपिन । उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत अघिल्लो वर्षको भदौमा इसराइल गएका थिए।
त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल पुगेका थिए। विपिनलगायत १७ जना एउटै फार्ममा काम गर्थे। असोज २० गते शनिबार हमासको आक्रमणमा उनीहरूमध्ये १० मारिए। हमासले गोली बर्साउन थालेपछि विपिन साथीहरूसँग बंकरभित्र लुकेर बसेका थिए। विपिनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएकातिर फ्याँकिदिएको भनेर नेपाल फर्किएकाहरूले बताएका थिए।
पछि हमासले बंकरभित्रै पुगेर गोली चलाई विपिनलाई तानेर लगेको उनीहरूले बताएका छन्। त्यसयता मंसिर ३ गते इसराइली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर) मा भिडिओ सार्वजनिक गरेको थियो। त्यसमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्य थियो। आइडिएफले ती दुईमध्ये एक नेपाली रहेको भनेको थियो। आइडिएफको दाबी सत्य भए तीमध्ये एकजना विपिन् रहेको आकलन गरिएको थियो।
युद्धविराम भएपछि विपिन फर्केर आउने आश बढेको छ। यद्यपि पहिलो चरणको युद्धविराममा हमासले इसराइली बन्धकमात्रै रिहा गर्ने भनेकाले सो अवधिमा विपिन जोशी छुट्ने सम्भावना न्यून छ। दोस्रो चरणको युद्धविराममा उनी छुट्न सक्नेछन्। त्यसका लागि नेपालले आवश्यक पहल पनि गरिरहेको छ। युद्धविरामको सम्झौता नजिक पुग्दा परराष्ट्र मन्त्री आरजु राणाले युद्धविरामको मध्यस्तता गरिरहेका कतारी मन्त्रीसँग विपिन जोशीको रिहाइबारे कुराकानी गरेकी थिइन्।