जिबी राईको राहदानी रद्द गर्न अदालतको अनुमति

सहकारी ठगी मुद्दामा फरार रहेका गिजेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । कास्की अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिबीको राहदानी रद्द गर्न आदेश दिएको हो । राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा विचाराधिन छ । मुद्दा प्रक्रियामा सहभागी नभइराखेको अवस्था छ । विदेशमा रहेको भन्ने जानकारीका आधारमा राहदानी रद्द गरी लिन सकिन्छ भन्ने उद्देश्यले अदालतले राहदानी रद्द गर्न अनुमति दिएको हो,’ उनले भने । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत् जिबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।