अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालको विजयी शुरुआत

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशाला आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले हरायो । नेपालका लागि खेलको १०औं मिनेटमा विमला चौधरीले गोल गरिन् । शुरुआतमै अग्रता लिएको नेपालले थुप्रै अवसर बनाए पनि गोलमा परिणत हुन सकेन ।

प्रतियोगितामा आज भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३-१ गोलले हरायो । चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् । प्रतियोगिताका लागि विदेशमा लिग खेलिरहेका नेपाली खेलाडीहरू एन्जिला सुब्बा तुम्बापो, रेखा पौडेल र सावित्रा भण्डारी स्वदेश आइपुगेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।