११ विदेशी लगानीकर्ता कम्पनीसँग प्रधानमन्त्रीले गरे छलफल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डको कार्यालयमार्फत अघि बढिरहेका विभिन्न ११ ठूला परियोजनाका लगानीकर्तासँग छलफल गरेका छन् ।

सार्वजनिक–निजी साझेदारी र निजी लगानीका परियोजनाको प्रगति तथा सम्पादित कार्यको जानकारी प्रधानमन्त्रीले लिएका हुन् । लगानी बोर्डको कार्यालयमा शुक्रबार भएको छलफलमा विकासकर्ता कम्पनीहरुले आफ्ना परियोजनामा देखिएका समस्याबारे अवगत गराएको र प्रधानमन्त्री दाहालले ती समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

‘आज प्रधानमन्त्रीको ठूला परियोजनाका लगानीकर्तासँग छलफल र कार्यालय निरीक्षणको कार्यक्रम थियो । छलफलका क्रममा विभिन्न ११ परियोजनाका विकासकर्ता कम्पनीका प्रतिनिधिले सम्बन्धित आयोजना प्रगतिको अवस्था र देखिएको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।’, लगानी बोर्डको कार्यालयका सहप्रवक्ता रमेश अधिकारीले भने । लगानीमैत्री वातावरण बनाउनुपर्ने, वन ऐन तथा लगानी ऐनलगायत कानुनी सुधार गर्नुपर्ने, अन्तर निकाय समन्वय, जग्गा प्राप्ति सहजीकरण, स्थानीयका समस्या समाधानलगायतका विषयबारे विकासकर्ता कम्पनीले प्रधानमन्त्रीलाई जानकारी गराएको उनको भनाइ छ ।