काठमाडौं जिल्ला अदालतमा आजबाट टोकन प्रणाली सुरु

काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुआत गरेको छ । अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि आज (सोमबार)बाट टोकन प्रणालीको सुरुआत गरेको जनाएको हो । टोकन प्रणालीको सुरुआत गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुआत गरेको बताए ।

उनले काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउने  योजनाअनुसार आफूहरू अघि बढेको बताए । उनले भने, "काठमाडौं जिल्ला अदालतलाई व्यवस्थित र सहजीकरण होस् भनेर सेवा लिने दिने क्रममा भीड नहोस् भनेर काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु भएको छ । काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने अवधारणामा हामी अघि बढेका छौँ । न्याय प्राप्तिका लागि काठमाडौं अदालत प्रवेश गर्दै गर्दा कम्तीमा सहज ढंगबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।" उनले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताए ।