'राजनीतिमा ठेकेदारी प्रथा हावी भयो' : नेतृ शाक्य

 काठमाण्डौँ - नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी पुर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक दलका नेतामा ठेकेदारी प्रथा कायम रहेकाले अपेक्षाकृत जनताको पक्षमा काम हुन नसकेको बताएकी छिन् । त्यही प्रबृत्तिविरुद्ध एमालेले ‘मिसन ग्रास रुट’ अभियान शुरु गरेको उनले बताईन् । 

अभियानको क्रममा आइतवार झापाको दमकमा  उपाध्यक्ष शाक्यले एमाले पार्टीभित्र पनि ठेकेदारी प्रथा रहेको प्रष्ट परिन् । आफुअनुकुल पार्टी चलाउन आफै धेरैको लेबी तिरिदिने र आफुविरुद्ध बोल्न नसक्ने बनाएर कार्यकर्तालाई दबाएर राख्ने काम अब हुनु हुँदैन, उनले भनिन् । 

वडादेखि माथिल्लो तहसम्म नै ब्यवहारिक र संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ छ । हामी आन्दोलनको जगबाट सरकारमा त पुग्यौं, तर जनताको बिषयमा अपेक्षाकृत काम गर्न सकेनौ, उनले भनिन् । सुखी नेपाली, सम्बृद्ध नेपालको सपना साकार पार्न अब तलदेखि माथिसम्म सुधार गर्न जरुरी रहेको उनले बताईन् ।