जनताको अवस्था बदल्ने महत्वपूर्ण कार्यभार हाम्रा सामु छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले आजभन्दा ७३ वर्ष अगाडि हाम्रा पुर्खाले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको सङ्घर्षमार्फत जहानियाँ निरङ्कुश व्यवस्थामाथि विजय हासिल गरेको उल्लेख गरे ।

उनले भने, “निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र सङ्घर्ष भएका छन् । ती सबै क्रान्ति, आन्दोलन र सङ्घर्षले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेका छन् ।”

प्रधानमन्त्री दाहालले यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादोन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण जनसमुदायमा अपिल गरेका छन् । लोकतन्त्रका राजनीतिक, आर्थिक र सामाजिक आयामको उच्चतम तथा परिष्कृत अभ्यासबाट मात्र जनस्तरमा लोकतन्त्रप्रतिको गहिरो विश्वास, आत्मीयता एवं व्यवस्थाको रक्षा तथा निरन्तर विकासका निम्ति अपनत्वबोध पैदा हुने उनले बताए ।

प्रधानमन्त्री दाहालले लोकतन्त्रको संस्थागत सुनिश्चितता, सङ्घीयताको गतिशील कार्यान्वयन तथा शासन प्रक्रियामा जनताको सक्रिय र उत्साहजनक सहभागिताबाट मात्र प्रजातन्त्रको निरन्तर सुदृढीकरण एवं समाजवादको आधार तयार पार्न सम्भव हुने उल्लेख गरे।

“सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई परिवर्तनको वास्तविक अनुभूति दिलाउँदै बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने महत्वपूर्ण कार्यभार हाम्रा सामु छ । जनताको जागरुकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव छ”, उनले भने ।