लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका वडा नं.६ को तिलगाउँ उच्च जोखिममा परेको छ । गएको बिहीवार र शुक्रवार गाउँमा लेदोसहितको पहिरो खसेपछि गाउँमा रहेका १८ वटा घर जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
ती घरमा रहेका ३२ जना विस्थापित भएका छन् । उनीहरु घर नजिकै सुरक्षित ठाउँमा त्रिपालमा बसेका छन् । स्थानीयवासीले हिमताल फुटेर पहिरो खसेको बताए पनि यसबारे पुष्टी हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए। वडाध्यक्ष पाल्जोर तामाङले हिमताल फुट्दा लेदोसहितको पहिरो गाउँ आसपास आइपुगेको र बस्ती जोखिममा रहेको बताए।
पहिरोले जलविद्युत आयोजनाको भवन, खानेपानीको पाइप, कुलो र बाटो बगाएको स्थानीयवासीले बताएका छन् । चार दिनअघि नै गाउँमा पहिरो आए पनि हिमताल फुटेकोबारे हिजो मात्रै थाहा भएको वडाध्यक्ष तामाङले बताए । आफूसहित गाउँका पाँचजनाको टोली घण्टौं हिँडेपछि हिमताल फुटेको देखिएको उनले बताए ।
स्थानीयवासीले हिमताल फुटेको भन्ने ठाउँ पाँच हजार तीन सय मिटरको उचाइमा पर्छ । सुरक्षाकर्मीको टोली त्यसतर्फ गए पनि स्वास्थ्य समस्याबाले बीच बाटोबाटै फर्किएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । तर पहिरोले क्षति पुर्याएको तिलगाउँमा भने सुरक्षाकर्मीको टोली पुगेर आवश्यक उद्धारको काम गरेको उनले बताए ।