पर्यटन विभागको महानिर्देशकमा बुढा

पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख रहेका बुढालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

विभागका तत्कालीन महानिर्देशक होमप्रसाद लुइँटेल सूचना आयोगमा सरुवा भएपछि उक्त पद रिक्त थियो । यसअघि अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागमा साढे दुई महिना महानिर्देशक बनेका बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका थिए ।

मन्त्रालयमा आइसकेपछि उनलाई पर्यटन प्रवर्द्धन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको थियो । बुढा पर्यटन विभागको महानिर्देशक भएपछि पर्यटन महाशाखाको प्रमुखमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजेन्द्रकुमार केसी आएका छन् ।

बुढासँगै भर्खरै संघीय मामिला तथा सामान्य प्रशासनबाट सरुवा भएर पर्यटनमा पुगेका सहसचिव हेमराज तामाङ र मन्त्रालयका सहसचिव केसी पनि महानिर्देशकको प्रतिस्पर्धामा थिए ।