आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।