आज उपचुनाव उमेदवारको नामावली प्रकाशन हुने

स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । 

मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ । ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको उमेदवारी परेको छ ।

उमेदवारको मनोनयन पत्र दर्ता भएकामध्ये सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पद र बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा ३/३ जना उमेदवारको मनोनयनपत्र दर्ता भएको छ ।