काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकले आजदेखि 'डिजिटल चिट' पाउने

काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेबापत गाडी चालकले आजदेखि डिजिटल चिट पाउने भएका छन् । यसअघि कागजको चिट काटेपछि भुक्तानीका लागि अरू प्रक्रियामा जानुपर्ने अवस्था रहेकोमा अब ट्राफिक प्रहरीले डिजिटल चिट दिने र जरीमाना अनलाइनमार्फत त्यहीँ भुक्तानी गर्न सक्ने व्यवस्था भएको हो ।

नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै 'डिजिटल पेमेन्ट' गर्ने व्यवस्था गरिएसँगै जरीमाना तिर्दा हुँदै आएको झन्झट अन्त्य हुने प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

यस्तै चालक अनुमतिका लागि 'ट्रायल' पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यसबाट लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ । यस्तै नागरिक एप चलाउनेले अबदेखि लाइसेन्स बोक्नुपर्ने छैन । नागरिक एपमा रहने चालक अनुमतिपत्रमा 'क्यूआर कोड' देखाउने व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरीले 'इचलान डिजिटल' एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने 'क्यूआर कोड' 'स्क्यान' गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन् । लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसूर र जरीमाना रकमसहितको 'डिजिटल चिट' को विवरण र जरीमाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था छ । यसबाट चालकले तत्कालै 'डिजिटल वालेट' मार्फत जरीमाना रकम भुक्तानी गर्न सक्नेछन् ।

प्रहरी नायब महानिरीक्षक बोहराका अनुसार पहिलो चरणमा काठमाण्डाै, भक्तपुर र ललितपुर जिल्लामा 'डिजिटल चिट' व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । 'डिजिटल चिट' काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै 'डिभाइस' उपलब्ध गराइएको छ ।