अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएको छ । नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएको हो । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ खुवाएको बीबीसीले जनाएको छ ।
राष्ट्रपतिको रुपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी भएको थियो । यसअघि उनी सन् २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा बसेको थियो । उनले २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएको थियो ।
यसैबीच अमेरिकाको उपराष्ट्रपतिमा जेडी भान्सले शपथ लिएको छ । शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपतिहरू, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थियो । सपथ ग्रहण कार्यक्रमको उद्घाटन सम्बोधनमा ट्रम्पले अमेरिकाको स्वर्ण युग अहिले शुरू भएको भन्दै अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको बताए ।
यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय भएको ट्रम्पको भनाइ छ । उनले नागरिकलाई एकताबद्ध भएर काम गर्न आह्वानसमेत गरेको छ । यसैबीच ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेको छ । वाशिङ्गटन डीसीको एक स्टेडियममा हजारौँ समर्थकहरू माझमा आफ्नो दोस्रो राष्ट्रपति कार्यकालको पहिलो आदेशमा हस्ताक्षर गर्ने उनको तयारी रहेको बीबीसीले जनाएको छ ।
ट्रम्पले विशेषगरेर अमेरिका–मेक्सिको सीमामा ‘राष्ट्रिय आपतकाल’ घोषणा गर्ने, ड्रग कार्टेललाई आतङ्कवादी घोषणा गर्ने र सरकारी विविधता कार्यक्रमहरू खारेज गर्ने कामलाई प्राथमिकता दिएको खबरमा उल्लेख छ ।