कुपोषित बालबालिकाको संख्या बढ्दै

वीरगन्ज - पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ ।

गर्भवतीमा पोषणयुक्त खानाको अभाव, बालविवाहका सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको ज्ञान नहुनु, आमालाई कामको अत्यधिक बोझ हुनु र पारिवारिक बेवास्तालगायतका कारणले कुपोषित बालबालिकाको संख्या बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७९र८० को १० महिनाको अवधिमा एक सय ७४ कडा खालको कुपोषित बालबालिका फेला महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले जानकारी दिए । उनका अनुसार विभिन्न स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणका क्रममा फेला परेका ती कुपोषित बालबालिकामध्ये ५६ बालबालिकालाई महानगरपालिकाद्वारा सञ्चालित ओटिसी सेन्टरमा भर्ना गरी उपचार गरिएको छ ।

वीरगन्ज महानगर क्षेत्रमा गत आव २०७८र७९ मा ४९ जना कुपोषित बालबालिका फेलापरेको थियो जसमध्ये ४४ जनाको उपचार गरिएको जनाएको छ । यस्तै आव २०७७र७८ मा ४३ जना कुपोषित बालबालिकामध्ये ३९ जनाको र आव २०७६र७७ मा फेला परेको २२ जनामध्ये १८ जनाको उपचार गरिएको प्रमुख कुर्मीले बताए ।

जन्मेकोदेखि पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई आवश्यक स्वास्थ्य जाँचसहित पोषणयुक्त खानाका लागि महानगरपालिकाले गत आव २०७६र७७ देखि वीरगन्ज स्वास्थ्यचौकीसहित बगही स्वास्थ्यचौकी र सिर्सिया स्वास्थ्यचौकीमा ओटिसी सेन्टर चलाउँदै आएको छ ।