देशका विभिन्न ठाउँमा वर्षा , धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

कोशी, बागमती, गण्डकी प्रदेशलगायत सबै प्रदेशका केही ठाउँमा हिजो बेलुकादेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै कास्कीको पोखरामा ४३ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै दैलेखको ग्वाटीमा ३५, पर्साको विरगञ्जमा २८ दशमलव ६, नुवाकोटमा २९ मिलिमिटर जानी परेको मापन भएको छ । काठमाण्डौ उपत्यका, सिराहा, धनुषा, भोजपुर, कञ्चनपुरलगायतका ठाउँमा पनि पानी परिरहेको छ । आज पनि सबैजसो प्रदेशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।