काठमाण्डौ उपत्यकामा आजदेखि २५ वटा द्रुत बस चल्ने

काठमाण्डौकाे रत्नपार्कदेखि भक्तपुरकाे सूर्यविनायकसम्म आजदेखि २५ वटा द्रुत बस चल्ने भएका छन् । अहिलेलाई पिक आवर बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सञ्चालन हुनेछ ।

हिजो दुई वटा बस सञ्चालन गरिएको र आजदेखि २५ वटा बसले नियमित सेवा दिने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताए । नेपाल  यातायात  व्यवसायी  राष्ट्रिय  महासङ्घको  सहकार्यमा  विभागले  २५  वटा ठूला बसको व्यवस्थापन गरेको छ ।

संविधान दिवसको अवसर पारेर सरकारले हिजोदेखि द्रुत बस सेवा सञ्चालन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेकाे थियो । द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकमा रातो रङले 'डेडिकेटेड लेन' नै छुट्याइएको छ ।

द्रुत बस सञ्चालन हुने समयमा अत्यावश्यकबाहेकका गाडी यो लेनमा प्रवेश गर्न नपाउने विभागका प्रवक्ता पनेरूले बताए । तर एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस भने यो लेनमा चलाउन पाइनेछ । विभागका अनुसार रातो बत्ती बलेका बेलामा  पनि द्रुत बस  रोकिने छैनन् । त्यस्ता बस एम्बुलेन्स तथा अत्यावश्यक गाडी जस्तै गुड्ने छन् ।

सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा नै पुग्न सकिनेछ । द्रुत बसका लागि रत्नपार्कदेखि सूर्यविनायकसम्म १९ ठाउँमा स्टप तोकिएको छ । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर,  कोटेश्वर  जडीबुटी,  कौशलटार,  गट्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने ठाउँमा बसस्टप तोकिएको छ । यसबाट सार्वजनिक गाडीको प्रयोगमा प्रोत्साहन हुने र निजी गाडी प्रयोगको सङ्ख्या घट्ने विभागको अपेक्षा छ ।