जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरकाे निषेधाज्ञालाई थप दुई महिना लम्ब्याएकाे छ । प्रशासन कार्यालयले बुधवार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरकाे निषेधाज्ञालाई कायम राखेको हाे । प्रशासनले गएकाे महिना एक महिनाका लागि यी क्षेत्रमा निषेधाज्ञा जारी गरेकाे थियाे । त्याे समय सकिएपछि प्रशासनले थप दुई महिना लम्ब्याएकाे हाे ।
यस्तै प्रशासनले माइतीघरदेखि बानेश्वरसम्म जारी गरेको निषेधाज्ञालाई पनि थप दुई महिना लम्ब्याएको छ । सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ । यी क्षेत्रमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।