एडिबी र प्राधिकरणको टोलीको अनुगमन, तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न निर्देशन

तनहुँ - एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ।

एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध, भूमिगत विद्युतगृह, मुख्य सुरुङलगायतका संरचनहरुको निर्माण कार्यको अनुगमन गरेको हो।

टोलीले आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवक्र्स), दोस्रो प्याकेज–२ (विद्युतगृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरु) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदाताहरुसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो।

निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको सहुलितपूर्ण ऋण प्रवाह गरेको एडिबीको नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नु पर्ने बताए। ‘मुख्य रुपमा प्याकेज–१को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकोले निर्माण विधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्नु पर्ने आवश्यकता देखिन्छ’, उनले भने।