वन मुद्धामा भ्रष्टाचार दोषी ठहर भएका नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले दिए राजीनामा

भ्रष्टाचार मुद्दामा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन्। शुक्रबार उनले केन्द्रीय कार्यालयमा राजीनामा बुझाएका हुन् । अदालतले गरेको निर्णय मान्ने आफ्नो कर्तव्य भएकाले राजीनामा दिएको राजीनामापत्रमा उल्लेख छ । उनलाई हटाउन माग गर्दै पटकपटक कांग्रेस नेताहरूले पार्टीको नेतृत्वलाई ध्यानाकर्षण गराउँदै आएका थिए । 

सर्लाहीकै तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिकाे अध्यक्ष रहँदा सिंहले वन मासेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले उनीविरुद्ध कैद र जरिवाना सुनाएको थियो । त्यसविरुद्ध उनी सर्वोच्च अदालतमा पुनरावेदन गएकामा १५ फागुन २०८० मा विशेषकै फैसला आंशिक सदर गर्दै दोषी ठहर गरेको थियो । विशेषले नाै महिना कैद तोकेकोमा सर्वोच्चले चार महिना १५ दिन कायम गरेको थियो भने एक करोड २३ लाख रुपैयाँ बिगो भराउने विशेषकै निर्णय सदर गरेको थियो ।  नैतिक पतन देखिने फौजदारी अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भएमा पार्टी सदस्यता कायम नरहने नेपाली कांग्रेसको पार्टी विधानको व्यवस्था छ ।