प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश

ठमेलमा प्रहरी कुट्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी सहित ५ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले कमल जोशीसहित ४ जनासँग जनही १० हजार धरौटी माग्ने आदेश गरेको हो । आक्रमणमा संलग्न डडेलधुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारासँग १५ हजार धरौटी माग गरिएको छ । ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल, गोपाल शाही, नविन सिंह ऐर र जोशीलाई जनही १० हजार धरौटी माग गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

अभद्र व्यवहार मुद्दामा अनुसन्धान भएपनि पटके आरोपी भएको हुनाले उनीहरू विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गरेको थियो । माघ २४ मा  ठमेलको ज्याथा स्थित छायाँ सेन्टर अगाडी ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले निर्घात कुटपिट गरेका थिए । मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती कुटिएका हुन् । आरोपी फुलारा ठमेलस्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् । घटनामा संलग्न सौजन्य शाही फरार छन् ।