आज सेयर बजार २१ अंकले बढ्यो, ५ अर्ब ७५ करोड बढीको कारोबार

सेयर बजारमा परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार सुधार देखिएको छ । विगत ३ दिनदेखि नकारात्मक रहेको शेयर बजार २१ दशमलव ३० अंकले बढेर २ हजार ७ सय ६१ दशमलव २६ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार दिनैभरी बजारमा कुल ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ३ सय १७ वटा स्क्रिप्टको कारोबार हुँदा १ करोड ८ लाख कित्ता सेयर खरिद बिक्री भएको हो ।

कारोबारमा आएका कम्पनीहरू मध्ये अधिकांशको शेयर मूल्य बढेको छ । कुल १ सय ७९ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखिउको हो । ७१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छैन। बजारमा म्युचुअल फण्ड बाहेक सबै समूह सकारात्मक रहेको छ । जमध्ये विकास बैंकका १ दशमलव १० प्रतिशतको वृद्धि नै सर्वाधिक रहेको हो । अरू सबै समूहको वृद्धि एक प्रतिशत भन्दा कम रहेको छ ।

बजारमा नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । दुवै कम्पनीको सेयर मूल्यमा क्रमशः ९ दशमलव ९९ प्रतिशत र ९ दशमलव ९८ प्रतिशतको वृद्धि देखिएको नेप्सेले जनाएको हो। कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी सबै भन्दा अगाडि रहेको छ। कम्पनीको ७६ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको हो । त्यस्तै, हिमालयन रिइन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको नेप्सेले जनाएको छ।