प्रहरीद्वारा अधिकृतमाथि कुटपिट गृहले बनायो तीन सदस्यीय छानबिन समिति

काठमाडौं / भिजिट भिसाको विषयलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा खटिएका कर्मचारी र प्रहरीबीच सम्बन्ध चिसिएका वेला दुई पक्षबीच शुक्रबार कुटपिट र धकेला धकेला भएको छ । अध्यागमनका कर्मचारी ड्युटी सकेर फर्कन लागेका समयमा चेकजाँचको विषयलाई लिएर विवाद हुँदा  कुटपिटनै भएको हो।

प्रहरीले अध्यागमन कार्यालयका अधिकृत  छायालाल मोक्तानलाई कुटपिट र धकेल्नुको साथै अध्यागमन प्रमुख गोगनकुमार हमलामाथि दुर्व्यवहार गरेको अध्यागमन कार्यालयले जनाएको छ। प्रहरीले भने सुरुमा अध्यागमन बिभागका कर्मचारीले हात हालेको दाबी गरेको छ। 

घटनाको विषयमा  छानबिन गर्न गृह मन्त्रालयले मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा  तीन सदस्यीय छानबिन समिति बनेको छ। समितिमा  नेपाल प्रहरीका डिआइजी राजेश बाँस्तोला र गृह मन्त्रालयका उपसचिव कुलबहादुर जिसी समितिका सदस्य छन् ।