५५ वर्ष पुरानो त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार गरिंदै

काठमाण्डौँ - २०२३ सालदेखि सञ्चालनमा रहेको विद्युत्‌गृह उपकरणहरू पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चौरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण शुरू गरिएको प्राधिकरणले जनाएको छ।

करीब ७५ करोड रुपैयाँ अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत, विद्युत्‌गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणहरूलाई आधुनिक तथा स्वचालित बनाइने छ। करीब ४०० रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवा हटाउन थालिएको हो।

साथै, जलाशयको दायाँ किनारबाट ५० क्युसेक पानी बहाव क्षमताको एक हजार २०० मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ। अहिले यही बाइपास नहरमार्फत विद्युत् उत्पादन भइरहेको छ। नहर सञ्चालनमा रहेकाले विद्युत् उत्पादन बन्द नगरी जलाशयमा भरिहेको माटो, बालुवा निकाल्ने काम जारी छ।

गत वैशाखबाट शुरू भएको जलाशयको पुनर्स्थापना यही आगामीभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ। विद्युत्‌गृहलाई स्वचालित बनाउने काम भने एक वर्षभित्रमा सम्पन्न हुने छ। यसका लागि ठेक्का सम्झौता भई केही उपकरणहरू उत्पादनको क्रममा रहेका छन् भने पावर ट्रान्सफर्मर लगायतका उपकरणहरू केन्द्रस्थलमा आपूर्ति भइसकेको छ ।