उच्च अदालत पाटनको अन्तिरिम आदेश अनुसार ‘सिप बिल्डिङ’मा सहभागी १८ जनाले मात्रै उत्पादनमूलक क्षेत्रको परीक्षाका लागि आवेदन दिन पाउने

दक्षिण कोरियामा पानी जहाज बनाउने (सिप बिल्डिङ) कामका लागि परीक्षा दिएका मध्ये १८ जनाले मात्रै उत्पादनमूलक क्षेत्रको परीक्षामा पनि सहभागी हुनका लागि आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनको अन्तिरिम आदेशपछि सिप बिल्डिङको परीक्षामा सहभागी भइसकेका १८ जनाले मात्रै उत्पादनमूलक क्षेत्रको परीक्षामा पनि आवेदन दिन अवसर पाउने भएका हुन् ।

सिप बिल्डिङ परीक्षामा सहभागी भएका सुरज पाठकसहित १८ जनाले उत्पादनमूलक क्षेत्रको कामका लागि लिइने परीक्षामा समेत आवेदन दिन पाउनु पर्ने भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले ५ पुसमा सिप बिल्डिङ कामका लागि परीक्षा दिइसकेका १८ जनालाई उत्पादनमूलक क्षेत्रको काममा लिइने परीक्षामा समेत सहभागी हुन निवेदन भर्न दिनु भन्दै अन्तरिम आदेश दिएको थियो ।

त्यससँगै ईपीएस शाखाले एक सूचना जारी गर्दै उनीहरूलाई उत्पादन क्षेत्रमा ईपीएसले लिने परीक्षाका लागि निवदेन दिन बोलाएको हो । उनीहरुलाई शुक्रबार दिउँसो पासपोर्ट, पापसपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षामा सहभागी भएको प्रवेश पत्रसहित तोकिएको शुल्क लिएर आवदेनका लागि बेलाएको छ ।

१८ जना बाहेक सिप बिल्डिङमा परीक्षामा सहभागी भएका अन्यले भने तत्कालका लागि ईपीएसले लिने परीक्षाका लागि आवदेन दिन नपाउने सूचनामा उल्लेख छ । यसअघि सन् २०२३ भित्र अन्य क्षेतर्फ कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरुले उत्पादनमूलक क्षेत्रका आवेदन दिन नपाउने बताइएको थियो ।