लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ

काठमाडौं - लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरिएको छ। बिहीबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजान लागेको लागूऔषध कोकिनसहित २ जना भारतीय महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको हो। अवैध कोकिनको बजार मूल्य १७ करोड ३ लाख ५१ हजार दुई  सय रहेको छ। 

एक जनालाई विमानस्थलबाट पक्राउ गरिएको हो भने अर्का एक जनालाई काठमाडौंको ठमेलस्थित होटलबाट पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए। उनका अनुसार पक्राउ परेका दुई भारतीय नागरिकलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ। 

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चैत्र १४ गते अनुमानित ११ बजेर १५ मिनेटमा इण्डिगो एयरलाइन्सबाट त्रिभुवन विमानस्थल हुँदै काठमाडौंबाट भारतको नयाँ दिल्ली जान लागेको मेजोरम ठेगाना भएकी वर्ष ४५ की भल्लालामीले साथमा बोकेको लगेज शंका लागेर खोल्दा चार वटा लेडिज ब्यागमा फ्लसबटम बनाएर भारतको नयाँ दिल्लीतर्फ निकासी गर्न लागेको अवस्थामा लागूऔषध केकिन २.८८७ के.जी. बरामद गरेको बताए।

त्यस्तै विशेष सूचनाको आधारमा चैत्र १४ गते अनुमानित ५ः१५ बजेको समयमा काठमाडौं २६ ठमेलस्थित होटलबाट सोही ठेगाना भएकी वर्ष २९ की इस्टर लालिम्पुरीको साथमा रहेको रहेको सुटकेस भित्र फ्ल्सबटम बनाइ लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध कोकिन ५ किलोग्रामसहित पक्राउ गरिएको बताए ।