सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो । वैशाख १४ मा बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गरेको थियो । सूचना अनुसार ८ जना डिआइजीहरूले आवेदन फारम भरेका थिए ।
दरखास्त फारम बुझाएका डिआइजीहरू कमल गिरी, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह र प्रदीप कुमार पाललाई पछि पार्दै ठाडा एआईजीमा सिफारिस भएका हुन् । इन्स्पेक्टर हुँदादेखि एसएसपीसम्म मेरिट सूचीमा अगाडी रहेका ठाडा डीआईजीमा पछि पारिएका थिए । तालिममा पनि उनी अब्बल अधिकृतको रूपमा चिनिन्थे ।
सशस्त्र प्रहरी स्थापना भएपछि भर्ना भएको पहिलो टोली सिसम–१ बाट डीआईजीद्वय सुरेश श्रेष्ठ र अन्जनी कुमार पोखरेलले पनि एआईजी बढुवाको फारम भरेका थिए ।